काठमाडौँ, मङ्सिर ९ गते । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले हरायो ।
जितका लागि एक सय ५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन बनाउनुभयो । दीलिप नाथले २५ रन बनाउनुभयो । यस्तै डी’आर्की सटले २२, कप्तान रोहित पौडेल र गुलवदिन नैबले ११/११ रन बनाउनुभयो ।
बलिङमा काठमान्डुका मिलन्ड कुमार र जेराल्ड इरासमसले दुई दुई तथा शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक एक विकेट लिनुभयो । करण केसी प्लेयर अफ दि म्याच हुनुभयो । यसअघि टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो ।
काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक अविजित ३४ रन बनाउनुभयो । यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरसमसले समान १७/१७ तथा रसिद खानले १४ बनाउनुभयो ।